४ फाल्गुन २०८२, सोमबार

‘गणतन्त्रवादी जनहितमा दत्तचित्त भएर लाग्नुपर्ने’


डा. रामवरण यादव

भक्तपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनका रूपमा लिनुपर्ने बताएका छन् ।

भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा” यादवले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताएका हुन् ।

पूर्वराष्ट्रपति यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दै यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै सङ्कटग्रस्त हुने बताए ।

युवाहरूको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले होइन हमी नेपाली आफैले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने उनको भनाइ थियो । आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले युवासँग भएका ज्ञान, सीप तथा विशेषज्ञता देश र समाजका लागि प्रयोग गर्न प्रेरित गर्नुभर्ने औँल्याए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफँै बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा यादवले पुरस्कार प्रदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !