काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । आज बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।
बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्री ओलीसँगको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको हो । आजको सदनमा गृहमन्त्री रमेश लेखकले सदन र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए । ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् ।
बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् । हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।












