५ फाल्गुन २०८२, मंगलबार

गृहमन्त्री लेखकलाई लिएर ओलीलाई भेट्न बालुवाटार पुगे देउवा


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । काँग्रेस सभापति देउवा गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् । भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।

बजेटको सम्मुखमा विपक्षी दलले भिजिट भिसामा गृहमन्त्रीको समेत कनेक्सन रहेको भन्दै राजीनामा माग्दै सदन अवरोधमा उत्रेका छन् । विपक्षीको अवरोधले सदनमा बजेट पेस गर्न सरकारलाई सकस पर्ने देखिएपछि सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए । भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !