पोखरा । सत्तारुढ दल नेकपा (एमाले) को निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट थेबेको प्यानलै विजयी भएको हो । मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।
यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।
पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो ।
पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् ।












