काठमाडौं । १५ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका खुम्बुका २९ वर्षीय शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ ।
शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए ।
उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन् । कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् ।













