काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने काँग्रेस नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ । कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको हो ।
पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव आएको हो । बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए ।
काँग्रेस नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई जानकारी दिए । यो प्रस्ताव राख्दा सभापति देउवाले हुन्छ हुन्न केही जवाफ नदिएको बताए।
पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन् । भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए ।












