काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अनिलकेशरी शाह र सुमना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
रास्वपाको आज आइतबारको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । यसैगरी रास्वपाकी सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामाबारे केन्द्रीय समितिको आइतबारको बैठकमा जानकारी गराइएको छ ।
प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो । शाहले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए । उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो ।
त्यस्तै सहमहामन्त्री श्रेष्ठले दिएको राजीनामा जेठ ९ गते नै स्वीकृत भएको थियो । प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। २०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो ।













