फाइल फोटो काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् ।
पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बाबुरामलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको टिप्पणी गरेका हुन् ।
‘प्रचण्ड’ ले पूर्वसहयात्री समेत रहेका नेसपाका अध्यक्ष डा. भट्टराईसँग एकता सम्भव नभएको बताएका हुन् । प्रचण्डले भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए ।
उनले कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ? भन्दै प्रश्न गरे । उनले पार्टी एकताको लागि विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नुपर्ने भन्दै बाबुरामसँग एकता गरेर फेरि ठूलो भइहाल्ने पनि नभएको सुनाए ।
उनले बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठलगायतका थुप्रै भ्रममा परेर गएका सबै फर्किने तयारीमा रहेको बताए । प्रचण्डले २०७९ को निर्वाचनमा आफू भट्टराईको निर्वाचन क्षेत्र–२ बाट चुनाव लड्ने बेलामै पार्टी एकता गर्ने प्रस्ताव गरेपनि भट्टराईले नमानेको जिकिर गरे ।
प्रचण्डले बाबुरामबारे टिप्पणी गरिरहँदा दायाँबायाँ बसेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्द किशोर पुन पासाङ हाँसिरहेको सार्वजनिक एक भिडियोमा देखिन्छ ।












