३ फाल्गुन २०८२, आइतबार

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन


मोहनबहादुर बस्नेत फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।

उनीसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा आज बिहीबार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनासाथ उनको पद स्वतः निलम्बनमा परेको हो । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ का प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।

अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद बस्नेतसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन मन्त्रीको रूपमा बस्नेतसमेत दोषी रहेको दाबीसहित उनलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना आयोगले संघीय संसद् सचिवालयमा पठाउँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !