काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालकाे आजै दाहसंस्कार गरिने भएको छ । नेपालको पार्थिव शरीर नेकपा (एमाले) को कार्यालयमा श्रद्धाञ्जली कार्यक्रमका लागि नराखिने पनि भएको हो ।
नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने भएको हो । नेपालको दाहसंस्कार विद्युतीय शवदाह गृहमा साँझ ६ बजे गरिने भएको छ ।
उपचारकै क्रममा आजै केहि समयअघि नर्भिक अस्पतालमा निधन भएको थियो । पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता नेपाल पार्किन्सन रोगबाट पीडित थिए ।
लेखक, साहित्यकार समेत रहेका नेपाल पछिल्लो समय भने राजनीतिबाट निष्क्रिय थिए । उनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दथे । उनले देउमाइको किनारमा (उपन्यास) लगायतका उपन्यासहरू लेखेका छन् ।
२०५१ मा तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सञ्चार, सूचना तथा प्रविधिमन्त्री बनेका थिए । त्यसपछि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । यसैगरी उनले जलस्रोत मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।












