काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बारेमा नभएर आगामी चुनावको चिन्ता गर्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् ।
आज बिहीबार काठमाडौंको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिसन ८४ एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनाव भएको जिकिर गरे ।
एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए । ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए ।
कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायित्वका लागि बनेको ओलीको भनाइ थियो । संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास एमालेले गर्ने उनले बताए ।
आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएकाले सचेत हुन आग्रह गरे ।












