६ फाल्गुन २०८२, बुधबार

बालेनलाई सुनिताले भनिन् – सामाजिक सञ्चालमा गाली गरेर स्टन्ट गर्दैमा देश बन्दैन


सुनिता डंगाेल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले सामाजिक सञ्चालमा गाली गरेर स्टन्ट गर्दैमा देश बन्दैन भनेर मेयर बालेन शाहलाई व्यंग प्रहार गरेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले मेयर शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउन आग्रह गरिन् ।

उनले भनिन्, ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’

डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताइन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् ।

डा. आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताइन् । उनले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिताका क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा राखिन् ।

“फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ”, उनले भनिन्, “एकता सधैँ कायम भएमा देश बन्नुका साथै अन्तरराष्ट्रिय जगतमा सकारात्मक सन्देश जान्छ । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ ।”

सोही कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने बताइन् । उनले नेपाललाई मासु, तरकारी, फूललगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यसैगरी शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । “विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्”, उनले भनिन्, “युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !