
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन् । आज मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको जिकिर गर्दै अहिले अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको उनको भनाइ छ । उनले बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।
पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।
आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए ।
अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर उनले जिकिर गरे । महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाइ छ ।