
काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिन निर्देशन दिएको छ ।
आज शुक्रबार बसेको राज्य व्यवस्था समितिले काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।
समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरूले गरेको विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए ।
साथै खतिवडाले उक्त घटनामा दोषी उपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन दिए ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । प्रहरीलाई स्रोत–साधनयुक्त बनाउन भन्दै समितिले बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयलाई अभिभावकीय भूमिका निभाउन पनि निर्देशन दिएको छ ।