
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको हो ।
तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो ।
आज शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनल गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।
यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।