
काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अवरोध गरेपछि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
तर पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा बैठक ४ बजे अर्को सूचना टाँसेर भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले हिजोदेखि सदन अवरोध गर्दै आएका हुन् ।
प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन । विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने गर्दा सदन अवरुद्ध हुँदै आएको हो ।