१८ चैत्र २०८१, सोमबार

प्रधानमन्त्रीको जवाफ चाहिने भन्दै आज पनि राष्ट्रियसभामा अवरोध, बैठक एक घण्टाका लागि स्थगित


कुलमानलाई हटाएको विरोधमा विपक्षी दलद्वारा राष्ट्रियसभा बैठक पनि अवरोध

काठमाडौं । विपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै राष्ट्रियभामा बैठक आज पनि विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीव केपी शर्मा ओलीकै जवाफ चाहिने भन्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

आज बिहीबार मध्याह्न १२:१५ का लागि बोलाइएको बैठकमा नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसालले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सदनमा आएर जवाफ नदिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । सदनमा आएर जवाफ नदिइनु संविधानको उलंघन भएको समेत बताए ।

भुसालले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने पनि बताए । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भन्दै बस्न आग्रह गरेका थिए ।

राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि सोही विषय राखे । विपक्षी दलको अवरोध कायमै रहेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !