
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । आज दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । तर विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक दिउँसो ३ बजे बस्ने समय परिवर्तन भएको सूचना प्रकाशित गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।