१४ चैत्र २०८१, बिहीबार

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेतावीच सहमति


सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीचको छलफल जारी

काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताहरूवीच संक्रमणकालीन न्याय (टीआरसी) को प्रक्रिया टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो ।

प्रमुख तीन दलका शीर्ष नेतावीच टीआरसी टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको हो । छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलले सर्च कमिटीका विषयमा निर्णय गर्ने अधिकार सरकारको भएकाले अबको केही दिनमा सर्च कमिटी गठन हुने जानकारी दिए ।

आयाेग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन् । विगतको कमिटी असफल भइसकेकाले नयाँ सर्च कमिटी गठन हुने उनको भनाइ थियो ।

विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटित भएको थियो । उक्त सर्च कमिटीले म्याद सकिँदासम्म पनि आयोगका पदाधिकारी सिफारिस गर्न नसकेको हो ।

साथै उक्त छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !