
हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता नीराजन बम रिहा भएका छन् ।
चितवनको भरतपुर विमानस्थलबाट मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज पक्राउ परेका बमलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइ गरेलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको थियो ।
काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको थियो । हिजो शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका थिए ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।