
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
बमलाई चितवनको भरतपुर विमानस्थलबाट मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
हिजो शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् ।
तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।
बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।