
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन् ।
आज फागुन २७ गते मंगलबार वाईसीएल नेपालको बैठक उद्घाटनका क्रममा उनले विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने उनले टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित र सशक्त भएर उनीहरूलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरूको दायित्व हुने बताए । वर्तमान सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीले ‘स्पेस’ पाएको महसुस आफूले गरेको उनको भनाइ थियो ।
उनले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रूपमा लिनुपर्ने बताए । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए ।
उनले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरूलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि बताए । उनले वाइसीएललाई संघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन निर्देशन पनि दिए ।