काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको दाबी गरेका छन् ।
आज सोमबार सामाजिक संजालमा फेसबुकमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्बिर राख्न लगाएको शाहीले दाबी गरेका हुन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि। बिदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स ,लेलिन ,माओ कुन देशका हुन ?’
हिजो आइतबार राप्रपालगायत राजावादीले गरेको पूर्वराजाको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीको तस्बिर पनि देखिएको थियो । राप्रपा, राप्रपा नेपाललगायत दलका नेताहरू पनि स्वागतका निम्ति पुगेका थिए ।













