
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार गोल्डेन गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आज आइतबार दिउँसो पूर्वराजा शाहका समर्थकहरुले विमानस्थल प्रवेशद्वार गोल्डेन गेट अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् ।
एक महिना पोखरा बसेर शाह दिउँसो ३ बजे पुरानो एयरपोर्टबाट प्लेन चढेर काठमाडौँ फर्किन लागेका छन् । पूर्वराजा शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका हुन् ।
पूर्वराजा शाह काठमाडौं ओर्लिनासाथ शक्ति प्रदर्शन गरेर विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी राजावादी समूहले गरेका छन् । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका हुन् ।
राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी अस्तव्यस्त बनेको हो ।
अहिले त्रिभुवन विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल एकदम बढेको छ । ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिएको छ ।