काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल र असक्षम सावित भइसकेको बताएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले सरकारप्रति जनताको निराशा बढेको बताउदै ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षमा पुगेको बताएका हुन् ।
उनले सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा मात्र सीमित रहेको देखिएकोले सरकारप्रति जनतामा नैराश्यता बढ्दो भएको बताउदै भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको पनि आरोप लगाएका छन् ।
उनले प्रतिवेदनमा भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ ।’
प्रतिवेदनमा सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाइएको छ । सरकारले पूर्वाग्रही ढंगले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण काम गरिरहेको यावदको आरोप छ ।
यस्तै अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने अडान लिएका छन् । भूमि अध्यादेशले वास्तविक भूमिहीन, सुकुम्बासीहरुले जग्गा पाउन नसक्ने पनि प्रतिवेदनमा लेखिएको छ । अध्यादेश ल्याउने सरकारको मनसायप्रति नै यादवले प्रश्न समेत उठाएका छन् ।
त्यस्तै जसपाले नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) समेतलाई अहिलेका प्राप्त उपलब्धिहरू नै बढी भइसकेको ठहर गरेको छ । यस्तो अवस्थामा ती दलको एक मात्र लक्ष्य नै सरकार भएको जसपाको जिकिर छ ।
साथै अध्यक्ष यादवले सत्ताप्रतिको मोहका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको बताएका छन् । दाहालले सधैं सत्तामा कसरी टिकिरहने भन्ने सोचेकैले उनको सरकार पतन भएको अध्यक्ष यादवको भनाइ छ ।
यस्तो छ हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ












