
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जामन्त्री खड्काले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ आज पठाएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई नभएको भएर ठाडो जवाफ ऊर्जामन्त्री खड्कालाई पठाएका छन् । घिसिङले आफूलाई पटक-पटक स्पष्टीकरण सोधेर हैरानी पार्न खोजिएको भन्दै ऊर्जामन्त्री खड्काको नियतमाथि समेत प्रश्न उठाएका छन् ।
घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत स्पष्ट पार्दै राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटक-पटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा गुनासो प्रकट गरेका छन् ।
आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । आफूमाथि लगाइएका सबै आरोप मनोगत भएको भन्दै आफ्नो नियुक्तिपछिको प्रगतिको सबै सूचांकले सबै प्रगति उजागर गर्ने बताएका छन् ।
गत मंगलबार ऊर्जामन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका थिए । ऊर्जामन्त्री खड्काले पदबाट किन नहटाउने भन्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
यसअघि २२ पुसमा घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले सातदिने स्पष्टीकरण सोधेका थिए । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिनु भनिएको थियो ।
यस्तो छ हेर्नुहोस् कुलमानले बुझाएको उर्जामन्त्री खड्काले सोधेको स्पष्टीकरणको जवाफ