
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न चुनौती दिएका छन् । मंगलवार प्रतिनिधिसभा बोल्दै ऊर्जा मन्त्री खड्काले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भ्रष्टाचार भएको भन्ने विषय पुष्टि गरे मन्त्री पदबाट मात्र नभएर सांसदबाटै राजीनामा दिन तयार रहेको बताए ।
उनले अन्य पूर्वप्रधानमन्त्रीहरुलाई तथ्यहीन कुरा नगर्न आग्रह गरेका छन् । खड्काले पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले सांसदमा तथ्यहीन विषय बोलेको आरोप लगाए । केही दिनअघि ‘प्रचण्ड’ले संसदमै जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा भएको अनियमितताको विषय उठाएका थिए ।
खड्काले सरकार अधुरा र अलपत्र परेका जलविद्युत आयोजनाहरूमा जनता र निजी क्षेत्रलाई साथमा लिएर काम गरिरहेको बताए । उनले अहिले सरकारले जनता र निजी क्षेत्रलाई साथमा लिएर यस्ता आयोजनाहरूको विकास गर्ने गरी मोडालिटी तयार गरिएको पनि उल्लेख गरेका छन् ।
ऊर्जा मन्त्री खड्काले ठुला जलविद्युत आयोजनाहरूमा सरकारको अर्बौँको लगानी अलपत्र परेको अवस्थालाई मूर्त रूप दिने गरी काम गरिरहेको जानकारी दिएका छन् ।
मन्त्री खड्काले बुढी गण्डकी,माथिल्लो अरुण, उत्तरगंगा जस्ता ठुला आयोजनाहरू अलपत्र अवस्थामा रहेको बताए । उनले नेपालको पानी जनताको लगानी अन्तर्गतका आयोजनाहरूमा प्रभावित क्षेत्रमा जनताले १० प्रतिशत लगानी गर्न पाउने विषयलाई कार्यविधिमा सरकारले संशोधन गरेको जानकारी दिए ।