
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । चितवन जिल्ला अदालतले मागेको ५४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी आज साँझ रिहा भएका हुन् ।
आजै जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश गरेको थियो ।
जिल्ला न्यायाधिश दयाराम ढकालको इजलासले प्रतिवादी लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार सो रकम बराबरको धरौटी माग गर्ने आदेश गरेको थियो ।
लामिछाने माघ १३ गते रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै उनलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
त्यस्तै लामिछाने यसअघि स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए । लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए ।
यो पनि पढ्नुहोस्