१९ फाल्गुन २०८१, सोमबार

अध्यादेशबाट जन्मिएको पार्टीले विरोध गर्नु अचम्मलाग्दो : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले ‘अध्यादेशबाट जन्मिएको’ पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् ।

आज शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अध्यादेशको विरोध गर्दै आएको छ ।

उनले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर संसद्को यस अधिवेशनमा विभिन्न ४० वटा विधेयकलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार गठन भएको छ महिनामा भएको उल्लेख गर्दै उनले सरकारले जनअपेक्षालाई समयमै सम्बोधन गर्दै परिणाममुखी निष्कर्षमा पुर्याउन क्रियाशील हुनमा विश्वास व्यक्त गरे । वर्तमान सरकारले राष्ट्रियस्वरुप ग्रहण गरेको उल्लेख गर्दै उनले यस अवधिमा जनतामा आशा जगाउने काम भएको, अर्थतन्त्रमा सुधार भएको बताए ।

सरकारले पछिल्ला दिनमा ल्याएका केही अध्यादेशका कारण लगानी विस्तार हुने वातावरण बनेको र विगतमा पनि त्यस्तो अभ्यास भएको उनको भनाइ थियो । अव्यवस्थित भूमिहीन र सुकुम्वासीलाई व्यवस्थित बसोबास गराउने लक्ष्यका साथ सरकारले अध्यादेश ल्याएको उनले बताए ।

लोकतन्त्रलाई बलियो बनाउने, गणतन्त्रलाई थप संस्थागत गर्ने, मौलिक हकलाई प्रभावकारी तवरले कार्यान्वयन गर्ने लक्ष्यका साथ आफूहरुले संविधान संशोधनको विषय अगाडि सारेको सांसद भट्टराईको तर्क छ । सरकार गठनका क्रममा नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषयलाई अगाडि सारिएको र त्यसले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !