४ फाल्गुन २०८२, सोमबार

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, अपराध गर्नेलाई एक करोडसम्म सजाय


संघीय संसद्

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मंगलबार उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका हुन् ।

सरकारले सामाजिक सञ्जालबाट हिंसा, घृणा फैलाउने र सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षा तथा मुलुकको अखण्डतामा प्रश्न उठाउनेलाई कडा कारबाहीको प्रावधानसहितको विधेयक संसद्‌मा दर्ता गराएको हो ।

सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउँदै सभ्य समाजको निर्माण गर्ने विधेयकमा भनिएको छ । देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र मुलुकको अखण्डताका विरुद्ध हुनेखालका पोस्टलाई अपराध करार गर्दै कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ ।

व्यक्तिको चरित्रमा गम्भीर प्रश्न उठाउने, घृणा फैलाउने र हिंसा भड्काउनेलाई पनि कडा सजाय प्रस्तावित छ । प्रस्तावित विधेयकमा यस्ता अपराध सामाजिक सञ्जालमार्फत गर्नेलाई २५ लाखदेखि एक करोड रुपैयाँसम्म सजाय हुने कानुनको मस्यौदा छ ।

फेसबुक, टीकटक, युट्यूव, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ ।परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्थामा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !