काठमाडौँ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आज बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।
यस्तै कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए ।
विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ ।
त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो । आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।