काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट थुनछेक बहस सकिएको हो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दाको थुनछेक सम्बन्धी बहसअन्तर्गत सुनुवाइ सकिएको हो ।
काठमाडौं जिल्ला अदालतमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस गरेका हुन् । बुधबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
दुई जनाको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।
सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।