काठमाडौं । महिला र पुरुषको विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले आज बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।
मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले गठन गरेको उपसमितिले अध्ययन तथा अनुगमन गरेपछि यस्तो सुझाव दिएको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ । विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ ।
उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिइ बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव समितिले दिएको छ ।