९ माघ २०८१, बुधबार

मुद्दाको आधार नभएकोले तारेखमा छोड्नुपर्ने रविका वकिलको जिकिर


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मुद्दाको आधार नभएकोले साधारण तारेखमा छाड्न माग गरिएको छ । आज बुधबार थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई रिहा गर्न माग गरेका हुन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट पन्तको बहस सकिएको छ । उनले लामिछानेविरुद्ध मुद्दाको आधार नभएको जिकिर गरेका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उनले काठमाडौंबाट पनि परिवारको जिम्मामा छोड्न माग गरे ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उक्त सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

गत बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी रकम बुझाएर उनी बिहीबार नै कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !