काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । आज बुधबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारलाई संसद् अधिवेशन बोलाउन दबाब दिने निर्णय गरेको हो ।
सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशनको मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ । हिउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।
यस्तै, निर्वाचन कानुनमा ‘थ्रेसहोल्ड’ बढाएर साना दलको सहभागिता कमजोर बनाउन खोजिएको निष्कर्षमा विपक्षी पुगेका छन् । थ्रेसहोल्ड बढाएर दुईदलीय व्यवस्था लाद्न खोजिएको उनीहरूको आशंका छ । यसबारे केही दिनमा नै दलहरूको आधिकारिक धारणा सार्वजनिक गरिने पुनले बताए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।













