
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका निम्ति थुनामा पठाउन माग गरिएको छ । आज सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई कास्की अदालतको आदेश बिर्सेर सभापति लामिछानेलाई थुनामै पठाउन माग गरेका हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा सरकारी वकिलहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका हुन् ।
जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन् । सोमबार सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले यति बेला बहस गरिरहेका छन् । हालसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरेका छन् ।
उनीहरू सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूले तर्क गरेका हुन् ।