१९ चैत्र २०८१, मंगलबार

थुनछेक बहस नभएपछि रविलाई हिरासतमा पठाइयो


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ । आज थुनछेक बहस नभएपछि सभापति लामिछानेलाई प्रहरीको जिम्मा लगाइएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा पठाइएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि फेरि लामिछानेलाई प्रहरीको हिरासतमा पठाइएको हो ।

लामिछानेको आज न्यायाधीश अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएतापनि सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि आज बहस सुरु हुन नसकेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गत बिहीबार लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी रकम बुझाएर उनी बिहीबार नै कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !