विराटनगर । सत्तारुढ दल नेकपा (एमाले) का सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् ।
पोखरेललाई आज बिहीबार बिहान प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको थियो ।
एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको थियो ।
यस्तै सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला हिजो रिहा भएकी थिइन् । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी कोइराला १० लाख धरौटीमा बुझाएर रिहा भएकी हुन् ।