२५ पुस २०८१, बिहीबार

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला १० लाख धरौटी बुझाएर रिहा


अञ्जला कोइराला

विराटनगर । प्रतिनिधिसभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी कोइराला १० लाख धरौटीमा बुझाएर रिहा भएकी हुन् ।

कोइरालालाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी कोइराला आज मोरङ जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

कोइरालालाई मोरङको उमागौरी सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोप लागेको थियो । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेपछि कोइराला फरार भएकी थिइन् ।

उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । कोइराला विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षक हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !