२३ पुस २०८१, मंगलबार

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी


अनिल कुमार पोखरेल

विराटनगर । सत्तारुढ दल नेकपा (एमाले) का सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो । एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !