२० पुस २०८१, शनिबार

भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट जस्तो : एमाले


प्रदीप ज्ञवाली फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीबाट निष्काशित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएको आरोपको कपिपेस्ट जस्तो भएको टिप्पणी गरेको छ ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रावलले आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रचण्डले नेकपाको समयमा लगाएको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका हुन् ।

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उपमहासचिव समेत रहेका ज्ञवालीले ओलीबारे रावलको आरोप प्रचण्डकै कपिपेस्टको संज्ञा दिएका हुन् ।

ज्ञवालीले भने, ‘नेकपा कालमा प्रचण्डले तत्कालीन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यिनै भाषा अभियोगहरू लगाउनु भएको थियो । सायद १९ पेजको थियो जस्तो लाग्छ । भीम रावलको हिजोको गालीगलोज पनि एक किसिमको कपिपेस्ट जस्तै हो ।’

हालै एमालेले कारबाही गरेका रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप अपेक्षित नै भएको बताएका छन् । आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले प्रतिनिधिसभा विघटन, नेकपा विभाजन लगायतका विषय रावलले उठाएको भन्दै तिनै मुद्दा तत्कालीन गठबन्धनले चुनावमा लगेपनि जनताको रोजाइमा एमाले रहेको देखिएको दाबी गरे । उनले गालीगलौजको प्रतिस्पर्धामा नगएर देश बनाउने अभियानमा लाग्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !