२० पुस २०८१, शनिबार

मलाई गरिएको कारबाही विधानसम्मत छैन : भीम रावल


भीम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् ।

पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।”

एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।

पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !