२० पुस २०८१, शनिबार

ओलीले निरंकुश ढंगले सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भए : भीम रावल


भीम रावल

काठमाडौं । नेकपा (एमाले)को कारबाहीमा परेका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुश ढंगले सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएको बताएका छन् ।

एमालेले पार्टीको साधारण सदस्यबाट कारबाही गरेपछि आज बुधबार पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेका रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नु बाध्य हुनुपरेको स्पष्ट पारेका हुन् ।

रावलले एमाले अध्यक्ष ओलीप्रति ओलीप्रति प्रश्नैप्रश्न गर्दै ओलीको झुटा कुरामा लत बसेको आरोप समेत लगाएका छन् । उनले ओलीविरुद्ध उम्मेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको खुलाए ।

रावलले एमाले अध्यक्ष ओलीलाई आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भनेर प्रश्न समेत गरेका छन् । रावलले ओलीले दसौँ राष्ट्रिय महाधिवेशनमा गरेको व्यवहारबारे प्रश्न तेर्स्याएका हुन् ।

रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधसम्बत नरहेको बताएका छन् ।

उनले पार्टी जीवनको ४९ वर्ष र राजनीतिक जीवनको ५१ वर्ष केपी ओलीले खोसेको बताए । रावलले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे ।

पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !