२० पुस २०८१, शनिबार

रास्वपामा उठ्यो मुकुल ढकाललाई महामन्त्रीमा फर्काउनुपर्ने माग


मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ ।

कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका छन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।

मधेसका सभापति यादवले अहिले पार्टीले कोर्स करेक्सन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । कोसीका सभापति तिम्सिनाले मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

तिम्सिनाको पत्रमा भनिएको छ, ‘पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपुर्ण छ । ढकाललाई पार्टी बाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुस कम्तीमा कोसी प्रदेशका सबै रास्वपाकर्मीहरूले गरेका छन् । मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागि केही सुधारात्मक कदम आवश्यक छन् ।’

ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधरण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको समेत पत्रमा उल्लेख छ । पार्टीमा ढकाललाई पुरानै जिम्मेवारीसहित फिर्ता बोलाउनुपर्ने मत उनको छ ।

यादवको पत्रमा भनिएको छ, ‘पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद छ । मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागी केही कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !