१६ बैशाख २०८२, मंगलबार

माओवादी एक नम्बरको पार्टी भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्छौँ : अध्यक्ष प्रचण्ड


अध्यक्ष प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् ।

कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले माओवादी पहिलो पार्टी बने विभिन्न कालखण्डमा सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने बताए । गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

उनले भने, ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्धु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइड बडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। र यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौँ । अहिले मैले अब धेरै भन्नु छैन।’

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए । उनले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौँ माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !