काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने भएको छ । रास्वपा सभापति लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
तर सहकारी ठगी प्रकरणमै पक्राउ परेका रास्वपाका सभापति लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको हो ।
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै लामिछाने, पूर्वडीआईजीजोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ ।
१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो ।