काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ सामाजिक सञ्जालमा भाइरसले भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको स्पष्ट पारेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ ।’
हिजो बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न गरेका थिए । उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो ।
कास्की प्रहरीले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भएको थियो ।