काठमाडौँ । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतले उक्त आदेश दिएको हो । रास्वपा सभापति लामिछानेसहित पाँच जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग गर्दै सरकारी वकिल कार्यालयले अदालतमा उपस्थिति गराएको थियो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता गराउने बुझिएको छ । त्यसैका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको थियो ।