काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवेश गर्नेहरूलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने भएको छ । माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति लिएको हो ।
स्थायी कमिटी बैठकको निर्णय समावेश गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार जारी गरेको सर्कुलरमा पार्टी एकतामा जोड दिने उल्लेख छ ।
वाम एकता र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षका साथ बाम घटकहरूसँग एकताको नीति लिएको माओवादीले पार्टीमा स्वागत गर्दा दिने पदबारे भने खुला नीति लिएको हो ।
सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक रहेको उल्लेख छ । कांग्रेस र एमालेको जनमत ह्रास आएको र पार्टीको पक्षमा जनमत बढेको निष्कर्ष माओवादीले निकालेको छ ।
उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थितरूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापकरूपमा विस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा जोड दिइएको पनि सर्कुलरमा उल्लेख छ ।