काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले चीनसँग ऋण लिन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर नभएको स्पष्ट पारेका छन् ।
चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताएका हुन् ।
ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’
आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको जानकारी दिए । ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिए ।